मकवानपुर । अवैध ढंगबाट ल्याइएको गोरु तस्करीमा सघाउने प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ ।
प्रहरीले हेटौँडा–१५ रातोमाटे चौकीका इन्चार्ज सहित तीन जनालाई जिम्मेबारीबाट हटाइएको हो । गोरु तस्करी प्रकरणमा रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँल, प्रहरी सहायक हवलदार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको प्रहरीले जनाएको छ ।
तस्करीलाई सहयोग गरेको सार्वजनिक आरोप पछि छानबिनको लागि उनीहरूलाई तत्कालको जिम्मेवारीबाट हटाइएको प्रहरीले जनाएको छ । गत आइतबार राती फुयाँल सहित ड्युटीमा रहेका प्रहरी जिल्ला पशुसेवा कार्यालय मकवानपुरको आग्रहलाई बेवास्ता गर्दै अवैध ढंगबाट झापा लगिँदै गरिएको गोरु सहितको ट्रकलाई भगाइदिएको आरोप लागेपछि तीनजना प्रहरी छानबिनको दायरामा आएका हुन् ।
फर्जी विल र भेटेनरी प्रमाणपत्र बनाएर कृषि प्रयोजनको लागि भन्दै बाप्र ०३–००१ ख १४२४ नम्बरको ट्रकमा रहेको २५ वटा गोरु सहितको ट्रकलाई रातोमाटे नाका कटाइदिएपछि जिल्ला पशुसेवा कार्यालयले पत्रकार सम्मेलन गरी घटनालाई सार्वजनिक गरेको थियो ।
रातोमाटे प्रहरीले छाडे पनि सशस्त्र प्रहरी बलको सहयोगमा पशुसेवा कार्यालयले बाराको पथलैयाबाट गोरु सहितको ट्रकलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
प्रतिक्रिया