भारतमा नेपाली छात्रा मृत्युको विषयमा संसदमा जोडदार आवाज

भारतमा नेपाली छात्रा मृत्युको विषयमा संसदमा जोडदार आवाज

‘सरकारको कूटनीतिक कमजोरीले नेपाली नागरिकको आत्मसम्मान गुम्याे’



काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको सम्बन्धमा सांसदहरूले जोडदार रूपमा आवाज उठाएका छन् । रुपन्देहीकी लम्सालको भारतकाे ओडियास्थित केआईआईटी कलेजमा मृत्यु भएको थियो ।

उक्त घटनापछि कलेज प्रशासनले थप नेपालीहरूलाई दुर्व्यवहार गरेको तथा कलेजबाट बाहिर निकालेको विषयको विरोध भइरहेको छ ।

सोही विषयलाई प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले जोडदार रूपमा उठाइका हुन् । आकस्मिक समयमा ७ सांसदले लम्सालको मृत्युबारे कुरा उठाए ।

सांसदहरु ठाकुर गैह्रे, मनिष झा, ध्रुवबहादुर प्रधान, माधव सापकोटा, छविलाल विश्वकर्माले लम्सालको मृत्युबारे कुरा उठाए । उनीहरूले क्याम्पसका प्रशासकहरूको नेपालीप्रति बोलिएको भाषा र व्यवहार आपत्तिजन्य भएको र नेपाल र नेपालीप्रति गरिनुपर्ने न्यूनतम व्यवहार पनि नदेखाएका बताए ।

रास्वपा सांसद मनीष झाले सरकारको असफलताको कारण विदेशमा रहेका नेपाली असुरक्षितसमेत रहेको आरोप लगाए ।

‘भारतमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले ज्यान गुमाइन् । यो एउटा घटना विशेषको रूपमा सीमित नभई आचरण र प्रवृत्तिमा जान चाहन्छु,’ सांसद झाले भने, ‘हाम्रो कूटनीति कतिसम्म कमजोर भयो कि कलेजको एउटा सुरक्षा गार्डले नेपाली नागरिकलाई कुटेको छ । तेरो देशको बजेट त यो कलेजको बजेट जति पनि छैन भनेर अपमान गरेको छ । यसले नागरिकको आत्मसम्मान र सुरक्षा छैन भन्ने देखाएको छ ।’

सांसद माधव सापकोटाले लम्सालको मृत्युसम्बन्धी घटनाको न्यायोचित छानबिनको माग गरे । उनले यसबारे आन्दोलन गरेका विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनले अमानवीय व्यवहार गरेको समेत बताए । साथै उनले सरकारलाई उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवादका लागि आग्रह गरे ।

‘भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्युपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले गरेको न्यायको आन्दोलनमा जुन अपमानजनक, अमानवीय व्यवहार गरियो । यसले सिंगै नेपाल र नेपालीमाथि धावा बोलेको छ,’ सांसद् सापकोटाले भने, ‘सरकारको कूटनीतिक असफलताको कारण नेपाली जनताले समस्याको सामना गरिरहनुपरेको छ ।’