काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाबारे ओडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा ओडिसा सरकारका उच्च शिक्षामन्त्री सूर्यवंशी सरजसँग टेलिफोन संवाद गरेकी छन् ।
उनले दोषीलाई कडा कारबाही तथा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित पठनपाठनको वातावरण बनाउन आग्रह गरेकी छन् । ओडिसा सरकारका अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेको मन्त्री राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
मन्त्री राणाले भनेकी छन्, ‘भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा हामीले निरन्तर फलो अप गरिरहेका छौं । आज पनि मैले ओडिसाका हायर एजुकेशन मिनिस्टर सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेकी छु । उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरें ।’
त्यसैगरी सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्रीको कार्यालयले मुख्यमन्त्री माझीले नेपाली अधिकारीहरूसँग पनि कुराकानी गरेको र प्रकृति लम्सालको मृत्युको घटनामा न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ ।
‘मुख्यमन्त्रीले नेपाली काउन्सिलरहरू सञ्जीवदास शर्मा र नवीनराज अधिकारीसँग कुराकानी गर्दै मृतक विद्यार्थीको घटनामा न्याय दिने आश्वासन दिनुभएको छ । साथै, उनले क्याम्पसमा शान्ति र सामान्यता पुनस्र्थापित गर्ने आश्वासन पनि दिँदै मुख्यमन्त्रीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्केर आफ्नो पढाइ सुचारु गर्न आग्रह गर्नुभएको छ,’ मुख्यमन्त्रीको कार्यालयले भनेको छ ।
परराष्ट्रमन्त्री राणाले यस घटनालाई ओडीसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी आफूलाई गराइएको बताएकी छन् ।
प्रतिक्रिया