काठमाडौँ । नेकपा माओवादी केन्द्रले तराई-मधेश जागरण अभियान अन्तर्गत गर्ने कार्यक्रम र समय तय गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले कार्यक्रम र समय तय गरेर पार्टीका कमिटीहरूलाई परिपत्र गरेका छन् ।
‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ दिइएको यो अभियानको उद्घाटन १२ फागुनमा झापाको कचनकवलको बनियानी बजारमा हुनेछ । आगामी ७ चैतमा कञ्चनपुर पुगेर अभियानको समापन हुनेछ ।
समय कार्यतालिका सामान्यतया एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी जिल्ला र समय तय गरिएको छ । जस अन्तर्गत झापामा फागुन १२ गते, मोरङमा फागुन १३ गते, सुनसरीमा फागुन १५ गते कार्यक्रम हुनेछन् । मधेश प्रदेश अन्तर्गत सप्तरीमा फागुन १६ गते, सिराहामा फागुन १७ गते, धनुषामा फागुन १८ गते र महोत्तरीमा फागुन १९ गते कार्यक्रम हुनेछ ।
सर्लाहीमा फागुन २१ गते, रौतहटमा फागुन २२ गते, बारामा फागुन २३ गते, पर्सामा फागुन २४ गते कार्यक्रम हुनेछन् । बागमती प्रदेश अन्तर्गत चितवनमा फागुन-२५ गते कार्यक्रम हुनेछ । गण्डकी प्रदेश अन्तर्गत नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते, लुम्बिनी प्रदेश अन्तर्गत परासी ९नवलपरासी पश्चिम० मा फागुन २७ गते, रुपन्देहीमा फागुन २८ गते अभियान अन्तर्गतका कार्यक्रम हुनेछन् ।
कपिलवस्तुमा चैत २ गते, दाङमा चैत ३ गते, बाँकेमा चैत ४ गते, बर्दियामा चैत ५ गते कार्यक्रम हुनेछ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीमा चैत ६ गते कार्यक्रम हुनेछ । चैत ७ गते कञ्चनपुरमा कार्यक्रम हुनेछ र तराई मधेश जागरण अभियान समापन गरिनेछ । अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट हुने परिपत्रमा उल्लेख छ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरे बमोजिम हुने भनिएको छ ।
‘बिहान, दिउँसो र बेलुका गरी स-साना तीन वटा कार्यक्रम तय गर्न सकिनेछ’ परिपत्रमा उल्लेख छ । अभियान टोलीमा पार्टी अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप-महासचिवहरूका साथै सांस्कृतिक टोलीहरू रहनेछन् । सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र जनसमुदायहरू अभियानमा सहभागी हुनेछन् ।
अभियान सञ्चालनका लागि स्वयंसेवकको व्यवस्था सम्बन्धित प्रदेश समितिहरूले गर्नेछ । स्थानीय विशेषता सहितका सांस्कृतिक टोलीहरू, स्थानीय भेषभूषा, झाँकीहरू, स्थानीय पार्टी समितिहरूले तय गर्नेछन् । अभियानको व्यवस्थापन सम्बन्धित प्रदेश इन्चार्जको नेतृत्वमा सम्बन्धित जिल्ला पार्टीहरूले गर्ने छन् ।
यसअघि गत पुस २१ गतेदेखि २३ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने निर्णय गरेको थियो । त्यस अन्तर्गत पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तराई मधेश जागरण अभियान पछि २०८२ साल वैशाख महिनामा मध्य पहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय छ ।
प्रतिक्रिया