सुर्खेत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन २०८४ को चुनाव अघि नै हुनुपर्ने बताएका छन् । बिहीवार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले २०८४ को चुनाव पछि काँग्रेसको महाधिवेशन गरे कांग्रेसको अवस्था झन नाजुक हुने भएकोले चुनाव अघि नै गर्नुपर्ने बताएका हुन् ।
२०८४ को चुनावपछि पार्टीको महाधिवशेन गरे पार्टी झन् कमजोर बन्ने हुँदा चुनाव अघि नै महाधिवेशन हुनुपर्ने र आफूले पनि पार्टीमा त्यही कुरा राखिरहेको उनले दोहोर्याए । साथै पार्टीको महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हो भन्दै उनले भने, “पार्टी सभापतिको उम्मेदवार म हो भनेर मैले पहिले नै भनिसकेको छु ।”
पार्टीको महाधिवेशनको अवधि २०८२ मंसिरमा सकिने र संविधानले दिएर अनुसार बढीमा डेढ वर्ष थप गर्न मिल्ने हुँदा समयमै महाधिवेशन हुनुपर्छ भनेर आफूले भनिरहेको उनको भनाइ छ ।
यसैगरी नेता कोइरालाले संविधान संशोधन, सुशासन, आर्थिक अवस्थामा सुधार ल्याउनेजस्ता सात बुँदा गरेर काँग्रेस र एमालेले सरकार गठन गरेपनि त्यो अनुसार काम हुन नसक्दा आफूले काँग्रेस सरकारमा सहभागी भएपनि खबरदारी गरिरहेको दावी गरे ।
उनले अहिले देशको अवस्था जटिल भएको भन्दै काँग्रेस र एमालेले पनि सुशासन कायम गर्न, आर्थिक कठिनाईलाई सुधार ल्याउन र संविधान संशोधन गर्नेजस्ता काम गर्न सकेन भने जनताले नपत्याउने बताए । राजनीतिक स्थिरताका लागि काँग्रेस र एमालेले सरकार गठन गर्नुपरेको भन्दै उनले आफूले सरकारलाई खबरदारी गरिरहेको उल्लेख गरे ।
अमेरिकाले नेपालललाई युएसडमार्फत दिने रकम ठगी हो भनेर रोकेको बेला अब नेपाल सरकारले पनि आफूलाई सतर्क बनाएर काम गर्नुपर्ने सुझाव उनले दिए ।


प्रतिक्रिया