काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलअघि पाकिस्तानलाई ठूलो झड्का लागेको छ । पाकिस्तानी टोलीका ओपनिङ ब्याटर फखर जमान चोटका कारण प्रतियोगिताबाटै बाहिरिएका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ ।
पाकिस्तानले फखरको ठाउँमा इमाम उल हकलाई राखेको छ । च्याम्पियन्स ट्रफी २०२५ को पाँचौं खेलमा आउँदो आइतवार फागुन ११ गते भारत र पाकिस्तान खेल्दैछन् । उद्घाटन खेलमा पाकिस्तानले न्युजिल्यान्डसँग हार बेहोरेको थियो । कराचीमा भएको यो खेलमा फिल्डिङ गर्ने क्रममा फखर घाइते भएका थिए ।
सन् २०१७ मा पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जित्दा जमानले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
फखरकाे ठाउँमा टाेलीमा परेका २९ वर्षीय इमामले सन् २०२३ देखि पाकिस्तानका लागि खेलेका छैनन् र अन्तिम पटक त्यही वर्ष भएकाे एकदिवसीय विश्वकपमा खेलेका थिए । इमामले ७२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४८.२७ काे औसतमा ९ शतक र २० अर्धशतकसहित ३ हजार १ सय ३८ रन बनाएका छन् ।
प्रतिक्रिया