काठमाडौं । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले हरायो ।
नेपाल एक खेल अगाडि फाइनलमा पुगेको हो । नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो ।
खेलमा लेबनानले पनि दुई वटा गोल गर्ने राम्रा अवसर गुमाएको थियो । इन्जुरी समयमा लेबनानको प्रहार बारमा लागेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले हराएको थियो । नेपालको जितसँगै म्यानमार पनि एक खेल अगाडि नै फाइनलमा पुगेको छ । म्यानमारले बिहीबार नै कीर्गिस्तानलाई ५–० गोलले हराएको थियो । लगातार दोस्रो जितसँगै नेपाल र म्यानमारले ६–६ अंक बनाए ।
म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले हराएको थियो । चार देशसम्मिलित प्रतियोगितामा कीर्गिस्तान र लेबनान बाहिरिएको छ ।एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ छनोट र फिफा महिला विश्वकप–२०२७ को छनोटको तयारीको रूपमा लिएको छ ।
प्रतिक्रिया