कांग्रेस–एमालेले दुई दलीय व्यवस्था अघि बढाउन खोजे : माधव नेपाल

कांग्रेस–एमालेले दुई दलीय व्यवस्था अघि बढाउन खोजे : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका हुन् ।

‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यसले बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुईदलीय शासन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न छैन,’ नेपालले प्रतिवेदनमा भनेका छन् ।

साना दलहरूलाई समाप्त पार्ने, प्रतिस्पर्धी दलहरूलाई नामेट बनाउने र अनेक किसिमका नियन्त्रणका तरिका अपनाएर देशलाई तानाशाही लागू गर्ने कुचेष्टा सरकारले गरिरहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् । उनले नेकपा एकीकृत समाजवादी आफ्नो विचार र लक्ष्यका साथ अघि बढिरहेको भन्दै अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन् ।

कहिले एमाले र केहीले माओवादीसँग एकीकरण गर्न लाग्यो भन्ने हल्लामा कुनै सत्यता नरहेको उनले बताए । आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै अध्यक्ष नेपालले तत्कालीन अवस्थामा गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको धारणा राखे ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनका साथै १३ बुँदे आचारसंहिता पेस गरेका छन् । निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवं राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगायत विषय आचारसंहितामा समेटिएको छ ।