कांग्रेसका युवा नेता रंजित कर्णको नेतृत्वमा बृहत भेला सुरु

कांग्रेसका युवा नेता रंजित कर्णको नेतृत्वमा बृहत भेला सुरु


ग्लोब नेपाल
135
Shares

भक्तपुर । संविधान सभा सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष रंजित कर्णले नेविसंघ पूर्वकेन्द्रीय समितिको बृहत भेला बोलाएका छन् । वि. स. २०६८ देखि २०७३ सम्म नेविसंघ केन्द्रीय समितिको नेतृत्व गरेका कर्णको आयोजनामा नगरकोटमा तत्कालीन केन्द्रीय समितिको बृहत भेटघाट एवम् पुनर्मिलन कार्यक्रम सुरु भएको छ ।

उक्त कार्यसमितिमा रहेका १२४ जना नेताहरूको उपस्थिति रहनेगरी बृहत भेला सुरु गरिएको छ । फागुन ९ र १० गते दुईदिन सञ्चालन हुने उक्त भेलामा कांग्रेसका युवा नेता कर्णले कार्यपत्र प्रस्तुत गरी कार्यपत्रमाथि छलफल र निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नेता कर्णका अनुसार नेविसंघ २०६८-२०७३ को कार्यकालका साथीहरूको बृहत पुनर्मिलनका लागि यस कार्यक्रम आयोजना गरिएको हो । ९ वर्षसम्म हुन नसकेको नेविसंघको महाधिवेशन गराउन सफल कार्यसमितिको गौरवपूर्ण यात्रा सम्झिँदै संगठन, पार्टी र राष्ट्रिय राजनीतिप्रति आफ्नो जिम्मेवारीबारे छलफल गरिने उद्देश्यले यस भेटघाट आयोजना गरिएको कर्णले बताए ।

“करिब ९ वर्षसम्म अड्किएको र अघिल्लो कार्यसमितिले गराउन नसकेको निर्वाचन हामीले गराएका थियौँ”, कर्ण भन्छन्, “त्यसपछि फेरि ९ वर्ष पूरा हुन लागेको छ र अरू ३ कार्यसमितिले निर्वाचन गराउन नसकेको अवस्था छ। यस्तो बेलामा विद्यार्थी संगठन मात्र नभएर समग्र पार्टीकै पुनर्ताजगीकरणको आवश्यकता छ। पुराना दिनको यादका साथै अबको यात्रा तय गर्न यो भेला महत्त्वपूर्ण हुने विश्वास लिएका छौँ ।”

यस भेलामा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस नेता प्रदीप पौडेल, गोविन्द भट्टराई लगायतका नेताहरू सहभागी हुँदैछन् । कांग्रेस महाधिवेशनको मिति नजिकिँदै गर्दा युवा नेता कर्णले बोलाएको यस भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ । महाधिवेशनलाई लक्षित गरेरै उनले भेला बोलाएको अड्कल नेपाली कांग्रेस वृत्तमा गर्न थालिएको छ ।

यद्यपि अहिल्यै केही निर्णय भइनसकेको, केवल पार्टीमा युवा नेताहरूको सक्रियतामा ह्रास आएकाले जागरणको लागि मात्रै यो भेला बोलाइएको नेता कर्णले जानकारी दिए । “महाधिवेशन नजिक आउँदै गरेको सम्बन्धमा त्यस बारेमा पनि केही धारणा तय गर्न यस भेलाले मद्दत गर्न सक्छ”, कर्णले भने, “तर केवल महाधिवेशनका कारण भेटघाट आयोजना गरिएको भने होइन ।”