काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पालिका तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट पालिकामा विजयी मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ । यसका लागि माओवादीले भाेलि र पर्सि काठमाण्डाैमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ ।
भेलामा पालिका तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने आज काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
भेलामा माओवादी केन्द्रका तर्फबाट विजयी भएका एक सय २३ पालिकाका मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्षको सहभागिता रहनेछ । माओवादी केन्द्रले भेलाबाट पछिल्लो चुनावमा विजय हासिल गरेका पालिकामा समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमूना पालिका बनाउने लक्ष्य लिएको छ ।
भेलामा निर्धारित राष्ट्रिय सूचकाङ्कमा उत्कृष्ट ठहर भएका ११ वटा पालिकाका मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्षले आ–आफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको छ । भेलामा समाजवाद निर्माणको आधारबारे विज्ञ सोमत घिमिरे, कृष्णराज अधिकारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।
स्थानीय जनप्रतिनिधिलाई समाजवादी नीति कार्यक्रम, कानून र बजेट निर्माण, उत्पादन र रोजगारीलगायत विषयमा प्रशिक्षण दिइनेछ । माओवादीले यसअघि पालिकाकाे चुनावलगत्तै पार्टीका तर्फबाट विजयी स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो ।
प्रतिक्रिया