नेपाली कांग्रेसमा ४० वर्ष मुनिका युवाको ३० प्रतिशत सहभागिता सुनिश्चित गरौँ – रंजित कर्ण

नेपाली कांग्रेसमा ४० वर्ष मुनिका युवाको ३० प्रतिशत सहभागिता सुनिश्चित गरौँ – रंजित कर्ण


ग्लोब नेपाल
0
Shares

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता एवम् संविधान सभा सदस्य रंजित कर्णको नेतृत्वमा कांग्रेसका युवा नेताहरूको दुई दिने बृहत भेला सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय समिति (२०६८-२०७३) को बृहत भेटघाट तथा पुनर्मिलन कार्यक्रमका नाममा भएको उक्त भेला यही फागुन ९ र १० गते नगरकोटमा सञ्चालन भएको थियो । वि.स. २०६८ देखि २०७३ सालसम्म नेविसंघ केन्द्रीय समितिको नेतृत्व गरेका कर्णको आयोजनामा नगरकोटमा तत्कालीन केन्द्रीय समितिको बृहत भेटघाट एवम् पुनर्मिलन कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त कार्यसमितिमा रहेका नेताहरू सहित गरेर १२४ जनाको सहभागितामा उक्त भेला सञ्चालन गरिएको नेता कर्णले जानकारी दिए । उक्त भेलामा अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य गोविन्द भट्टराई, युवा नेता सुवास पोख्रेल लगायतको उपस्थिति रहेको थियो । यस्तै उक्त भेलामा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, कोशी प्रदेशका पूर्व मन्त्री राम कुमार खत्री सहित नेविसंघ पूर्व केन्द्रीय समितिका सदस्यहरू उपस्थित रहेका थिए ।

उक्त भेलाको पहिलो दिन नेता कर्णले कार्यक्रमको परिचय दिएपछि उपस्थित सहभागीहरूले आफ्नो मन्तव्य राखेका थिए । समग्र पार्टीको पुनर्ताजगीकरण, राजनीतिमा युवाको भूमिका, राजनीतिमा न्यू मिडिया अर्थात् सामाजिक सञ्जाल प्रयोगको महत्व र अब नेपाली कांग्रेसले तय गर्नुपर्ने राजनीतिक बाटो लगायतका सन्दर्भमा सहभागीहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
उक्त भेलाको दोश्रो दिन बोल्न बाँकी सहभागीहरूले बोलिसकेपछि नेता कर्णले “संघर्ष, नेतृत्व र रुपान्तरण” शीर्षकको प्रस्तुतिकरण सहित कार्यपत्र समेत प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा नेपाली कांग्रेसको बृहत रुपान्तरण र देशको आर्थिक समृद्धि सहित सुशासनका लागि विधान नै संशोधन गरेर अघि बढ्नुपर्ने नेता कर्णको प्रस्ताव रहेको थियो । “जनसङ्ख्याको ४२.५ प्रतिशत युवाले ओगटिरहँदा देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा खै युवा सहभागिता?”, कर्णले प्रश्न गरे, “तसर्थ अब विधानमा नै संशोधन गरेर वडादेखि केन्द्रीय तहसम्म पार्टीका हरेक समितिमा ४० वर्ष मुनिको कम्तीमा ३० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्छ ।” यस्तै मतदान गर्न १८ वर्षमा पाउने तर संघीय सांसद हुनका लागि २५ वर्षको योग्यता राखिएको विषयमा समेत आपत्ति जनाउँदै २१ वर्षमै सांसद बन्न पाउने व्यवस्था गरिनुपर्ने उनको प्रस्ताव थियो ।

विकासका लागि राजनीति, सुशासनका लागि उद्यमशीलता भन्ने नाराका साथ आफ्नो प्रस्तुति सम्पन्न गर्दै नेता कर्णले नेपाली कांग्रेसको कुनै कार्यकारिणी पदमा वा नेपाली कांग्रेसबाट टिकेट लिएर कुनै सार्वजनिक पदमा उम्मेद्वार हुने व्यक्तिले आफ्नो जीवनयापनका लागि व्यापार, व्यवसाय वा कुनै इलममा संलग्न रहेको प्रमाण र आयस्रोत सहित सम्पत्ति विवरण बुझाएर मात्र उम्मेद्वार बन्न दिनुपर्ने प्रस्ताव समेत कर्णको छ । यसले सुशासन स्थापनामा मद्दत गर्ने उनको तर्क थियो ।

नेता कर्णको प्रस्तुतिकरण पश्चात केन्द्रीय नेताहरू किशोरसिंह राठौर, गोविन्द भट्टराई लगायतले आफ्नो सारगर्भित मन्तव्य प्रस्तुत गरेका थिए । त्यसपछि अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गरियो । उक्त भेलाका सहभागीहरूले नेविसंघको एघारौँ महाधिवेशन गराउन तत्कालीन केन्द्रीय समिति र त्यसका अध्यक्ष रंजित कर्णको खुलेर प्रशंसा गरेका थिेए । आफूलाई कुशल विद्यार्थी नेताका रूपमा स्थापित गरिसकेका कर्णलाई अब पार्टीको पन्ध्रौँ महाधिवेशनबाट महामन्त्रीको भूमिकामा देख्न चाहेको अधिकांश सहभागीको विचार रहेको थियो ।

यो गुट वा त्यो समूह भन्दा पनि यो भेलाबाट चाहिँ पन्ध्रौँ महाधिवेशनमा सहकार्य गरेर अघि बढ्ने निर्णय भएको एक सहभागिले बताए । यद्यपि, यो कार्यक्रम एक पुनर्मिलन मात्र भएको र महाधिवेशनको तयारी नभएको नेता कर्णले बताएका छन् । “साथीहरूले मलाई पार्टीको केन्द्रीय भूमिकामा देख्न चाहनुभएको छ”, कर्णले भने, “हिजो – आज दुईदिन भेलामा पनि अधिकांशले यही कुरा बताउनुभयो, तर यो भेला विशुद्ध पुराना साथीहरूको भेटघाट र पुनर्मिलनको भेला हो । अब महाधिवेशन नजिकिँदै गर्दा त्यसको चर्चा स्वभाविक हो । त्यसैले साथीहरूको विचार र पार्टी र राष्ट्रको आवश्यकता अनुसार निर्णय लिनुपर्छ । अहिल्यै केही सोचिसकेको छैन ।” उक्त भेलाको दुवै दिनको कार्यक्रम सञ्चालन भने कांग्रेसका युवा नेता बद्री मुडवरीले गरेका थिए ।