माओवादीले आफ्नो कित्ता ‘क्लियर’ गर्नुपर्छ : सांसद बास्कोटा

माओवादीले आफ्नो कित्ता ‘क्लियर’ गर्नुपर्छ : सांसद बास्कोटा



काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)लाई लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो भन्दै प्रश्न गरे ।

उनले पछिल्लो समय वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुह्लो बल्न लागेको हो कि भन्दै आशंका व्यक्त गरे ।

उनले भने, ‘के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ? वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुह्लो बलेको हो ? सहमति त्यसमा हो याद गर्नुहोला त्यो चुह्लोमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन । भ्रममा नरहनुहोला ।’

उनले माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताए ।

उनले विसं २००७ यता कांग्रेस एमाले सरकारमात्रै नभइ संस्था नै बनेको जिकिर गरे ।

‘यो संस्था बन्यो, कांग्रेस–एमाले २००७ सालदेखि यता, यो सरकारमात्रै होइन, संस्था बन्यो नेपाली राजनीतिको, त्यति कुरा ख्याल गरेर चल्दिनका निम्ति अनुरोध गर्न चाहन्छु,’ उनले भने ।