काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ऊर्जा मन्त्रालयका पछिल्ला गतिविधिमा प्रश्न उठाएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारले अघि बढाएको प्रक्रियालाई लिएर प्रश्न गरे । उनले भने, ‘काहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तो ऊर्जा मन्त्रालयमा के भइरहेको छ ?’
“कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भन्ने हल्ला सुनिन्छ । उज्यालो नेपाल बनाएर के गल्ती गरे ? घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गरे कुलमानले ?,” उनले प्रश्न गरे, “भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गरेर के गल्ती गरे कुलमानले ?”
मन्त्रीको आलोचना गर्दा दूधकोसी जलविद्ययुत्का सीईओ विमल गुरुङलाई कारबाही गरिएको विषयमा पनि उनले प्रश्न उठाएका छन् ।
त्यसैगरी पौडेलले विद्युत् नियमन आयोगले विद्युत् महसुल तिर्नेहरूको लाइन काट्ने कि नतिर्नेहरूको काट्ने भन्दै प्रश्न गरे । ‘विद्युत नियमन आयोगले महसुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ?’
प्रतिक्रिया