काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले फेरि लोभ र मोहमा फसे माओवादीले जनताको अपेक्षा पूरा गर्न नसक्ने बताएका छन् ।
जनतासँग माओवादी तराई-मधेश जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी रुपान्तरण हुनुपर्ने बताए । जनताको आवाजलाई पूरा गर्नको लागि पहिले माओवादी र नेतृत्व बदलिनुपर्ने उनकाे भनाइ छ ।
शर्माले भने, ‘माओवादी नेतृत्वको यो टिमले आफैंले आफैंलाई बदल्नुछ, त्यो बदल्न सक्दैनौं भने जनताको यो आवाजको नेतृत्व हामी गर्न सक्दैनौं। जनताको आवश्यकताको नेतृत्व गर्न सक्दैनौं । त्यसैले जनताको समस्या समाधान गर्नको लागि हामी लाग्नुपर्छ । जनताको आवाजलाई पूरा गर्नको लागि पहिले माओवादी र नेतृत्व बदलिएर त्याग गर्ने भावना देखाउँनुपर्छ, त्याग गर्ने होइन, फेरि लोभ र मोहमा फस्यो भने सक्दैन । त्यसैले त्याग गर्न शिक्षा लिएर अहिले जनताको कुरा सुन्न आएका हौं ।’
उनले जनताको भावना र मागसँग जोडेर संगठन निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘जनतासँग जोडिने कुरामा हामी पछि परेका छौं । त्यसैले जनतासँग जोड्नको लागि जनताले चाहेको नेतृत्व चयनको प्रक्रियामा पार्टीमा लैजानुपर्छ । र महाधिवेशनतिर पनि जानुपर्छ । अहिले हामीले स्थागित गरेको लोकतन्त्रलाई पार्टीभित्र स्थापित गर्दै जनतालाई लोकतन्त्रलाई अनुभूति गराउँनुगरी हामी अघि बढ्नुपर्छ ।’


प्रतिक्रिया