सिन्धुपाल्चोक । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जारी हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भए शिक्षासम्बन्धी धेरै समस्या समाधान हुने बताएका छन् ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्न सके शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने बताएका हुन् ।
पञ्चायतकालीन शिक्षा ऐनबाट निर्देशित हुनुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष दाहालले शैक्षिक क्षेत्रमा रहेका अनगिन्ती समस्याको समाधानका लागि विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्नुपर्नेमा जोड दिए । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा छलफलको क्रममा रहेको चर्चा गर्नुहुँदै अध्यक्ष दाहालले भने, “यो विधेयक दुवै सदनबाट पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।”
मौलिक हकको कार्यान्वयनका लागि बनाउनुपर्ने थुप्रै कानुनहरू समयमै बन्न नसक्दा जनतामा निराशा बढेको भन्दै अध्यक्ष दाहालले भने, “ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर पनि कयौं व्यावहारिक कानुनी जटिलताका कारण सोचेजस्तो काम हुन नसकेको कुरा म आफैँलाई अनुभूति भएको छ ।”
उनले जारी हिउँदे अधिवेशनबाट निजामती विधेयक, प्रहरी समायोजन विधेयक, भ्रष्टाचारसँग सम्बन्धी विधेयक लगायतका अति आवश्यक विधेयकहरू पारित हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया