पूर्वबाट रातो सूर्य उदाउँदै छ : प्रचण्ड

पूर्वबाट रातो सूर्य उदाउँदै छ : प्रचण्ड



मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रूपमा ऊर्जा दिने बताएका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारी सभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै उनले पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको छ भन्ने उक्ति चरितार्थ हुँदै गरेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यवहारिक रूपमै पुष्टि भएको र ८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिएको बताए ।

पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूति सहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको उनले बताए । अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको प्रत्यक्ष सहभागितामा भएको जनयुद्धले सबै क्षेत्रमा ऐतिहासिक जागरण ल्याएको र २०६४ सम्म आउँदा जनताले माओवादीलाई विश्वास गरे पनि पार्टी आफै सम्हालिन नसक्दा र आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले नै आशंका गर्ने अवस्था बन्न पुगेकाले गम्भीर आत्मसमीक्षा सहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको बताए ।

प्रचण्डले पार्टीभित्र कुनै मतभेद नभएको प्रष्टीकरण दिए । उनले एकताबद्ध भएर पार्टी निर्माणको संकल्प गरेर हिँडेको बताए ।

उनले भने, ‘केन्द्रीय कमिटीको बैठकबाट सर्वसम्मत रूपले जनतामा जाने गरेका हौँ । तपाईँहरूले यहाँ नेताहरूको टीम देख्नुभएको छ । यहाँ कसैको पनि विमति र मतभेद छैन । हामी जनताको तागतको बलमा सत्ताको नेतृत्व लिने संकल्प गरेका छौँ । कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर माओवादीलाई घाटा मात्रै उनीहरूलाई फाइदा मात्रै भयो । त्यो भूल अब हामी गर्दैनौँ ।’

उनले अहिले संख्याको बलमा जनताले पाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको जिकिर गरे । जनताले पाएको अधिकार सुनिश्चित गर्दै सबै जाति, भाषा र संस्कृतिको रक्षा तथा समुदायको पहिचान स्थापित गर्न अब आफ्नो पार्टीले नेतृत्व गर्ने र त्यसमा आम उत्पीडित समुदायले साथ दिनुपर्ने बताए ।

अब उत्पीडित समुदायले पाएको अधिकार खोस्नु इतिहासको चक्का उल्टोतिर घुम्नु सरह भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्पीडित समुदायको पक्षमा रहेको सङ्कल्प गर्न अभियान ल्याएर आएको बताए ।