काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभामा बाेलेको अभिव्यक्तिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाएका छन् ।
मंगलबार आम सञ्चार विधेयकमाथिको छलफलमा सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा कमजोरी रहेको बताए ।
वैदेशिक लगानी सम्बन्धी ऐनले आम सञ्चारमा वैदेशिक लगानी ल्याउन नपाउने प्रावधान रहेको तर, आम सञ्चार विधेयममा आम सञ्चारमा वैदेशिक लगानी आउन सक्नेगरी खुला राखेको भनेर प्रश्न उठाए ।
यो विषयलाई राष्ट्रिय सभाले ख्याल नगरेको भन्दै सांसद शाहीले भने, ‘यत्तिसम्म पनि अध्ययन गरेर आउँदैन भने हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने ?’
राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाए ।
‘संसदको रोष्ट्रममा बसेर राष्ट्रिय सभाबारे गरेको टिप्पणी गलत छ’ पाण्डेले भने । संविधान, कानुन अनुसारको अभिव्यक्ति नरहेको भनेर सभामुखको ध्यानाकर्षण गरे ।
तर, सांसद शाहीले पाण्डेलेलाई जवाफ दिए, ‘म प्रतिनिधि सभाको निर्वाचित सदस्य हो । मेरा विरुद्धमा राष्ट्रिय सभामा खेद प्रस्ताव पारित हुँदा तपाईंको ध्यान कहाँ थियो ?’
त्यसपछि नेकपा एमालेका सांसद रघुजी पन्तले सांसद शाहीको अभिव्यक्तिमा आपत्ति जनाए । सभामुखले रुलिङ गरिसकेपछि व्यक्ति केन्द्रित भएर अभिव्यक्ति दिन नहुने भनेर सांसद पन्तले बताए ।
सांसद शाहीले यसअघि पनि राष्ट्रिय सभाका सांसदहरूलाई ‘वृद्धाश्रम’ भनेका थिए । सो प्रति राष्ट्रिय सभा सांसदहरूले नै आपत्ति जनाएका थिए ।
सभामुख घिमिरेले सांसद शाहीलाई व्यक्ति केन्द्रित भएर नबोल्न निर्देशन दिए ।


प्रतिक्रिया