काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा साना पार्टीले ठुला पार्टीलाई घुक्र्याएर शासन गर्ने गलत संस्कार सुरु भएको बताएका छन् ।
नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले प्रचण्डले एमालेकै सहयोगमा प्रधानमन्त्री बनेको बिर्सिएर एमालेमाथि नै शासन गर्न खाेजेकाे आराेप लगाए ।
उनले भने, ‘म अरूको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने कुरालाई समेत बिर्सिएर ठूला दल माथि माओवादीले शासन गर्न सुरु गरेपछि दुई दल मिलेका हौं । हामी मिल्नु भनेको शासन गर्नको लागि मात्र होइन, अहिले संकटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासन कायम गर्ने र जनतामा बढ्दै गएको निशालाई चिर्नको लागि हामी मिलेका हौँ ।’
देश आर्थिकरूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको कारण समस्यामा पर्न लागेकोले अहिले देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।
सरकारले ल्याएको अहिलेको अध्यादेश औचित्यको आधारमा अध्यादेश ल्याएको बताए । सरकार अध्यादेश ल्याउन मात्र होइन नयाँ कानुन बनाउन पनि केन्द्रित रहेको बताए ।
उनले थपे, ‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौँ ।’
यस्तै, कुनै पनि संगठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने उनले बताए । कुनै पनि उद्देश्यको लागि सांगठनिक शक्ति आवश्यक पर्ने पोखरेलले बताए । उनले थपे, ‘विचारले मात्रै हुँदैन, विचारलाई संगठनमा बदल्नु पर्छ, संगठनलाई उद्देश्यमा बदल्नु पर्छ ।’
प्रतिक्रिया