काठमाडौं । फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् २०१० यता १५ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि उपाधि जित्न भने सकेको छैन ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै गोल म्यानमारले दोस्रो हाफमा गरेको हो ।
खेलको ६२औँ मिनेटमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रतामा राखेकी हुन् । लेफ्ट साइड बक्सभित्रबाट खिनले गरेको ‘चिप’ लाई नेपाली टिमकी गोलकिपर एन्जिलाले ठम्याउन सकिनन् । त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो ।
६४औँ मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन् ।
यसपछि थप गोल नहुँदा म्यानमार च्याम्पियन बनेको हो ।
यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरीमा समाप्त भएको थियो । प्रतियोगिताको लिग चरणमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा आएका हुन् । चार देशको सहभागिता रहेको प्रतियोगितामा लेबनान र कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिएका थिए
प्रतिक्रिया