सिरहा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामूहिक बलात्कारका कारण ज्यान गुमाएकी सिरहा, नवराजपुरकी रिंकु सदायको घर पुगेर परिवारका सदस्यसँग भेटेका छन् ।
हुलाकी राजमार्ग केन्द्रित पार्टीको तराई–मधेस जागरण अभियानका क्रममा शनिबार बिहान नवराजपुर गाउँपालिका–५ भगवतीपुरस्थित रिंकुको घर पुगेर प्रचण्डले जसरी पनि न्याय दिलाउने प्रतिबद्धता जनाए ।
त्यस क्रममा प्रचण्डले पीडित परिवारको अवस्था र घटनाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । त्यस क्रममा क्रममा प्रचण्डले घटना अत्यन्त दुःखद् रहेको बताए । प्रचण्ड पुग्दा आँगनमा रिंकुका बुवा बिजुली सदाय, आमा सीता र सानीआमा श्रीवती हात जोडेर उभिएका थिए । तर, उनीहरुले एक शब्द बोल्न सकेनन् ।
रिंकुकी सानीआमा श्रीवतीले रिंकुले न्याय पाउनुपर्ने तथा दोषीमाथि कारबाही हुनुपर्ने बताए । प्रचण्डले पीडित परिवारको माग जायज रहेको भन्दै दोषीमाथि कारबाहीका लागि सरकारसहित सम्बद्ध निकायलाई झक्झक्याउने बताए ।
शौच गर्न गत १७ माघको राति घरबाहिर निस्किएकी १७ वर्षीया रिंकुलाई तीन जनाको समूहले अपहरण गरी सामूहिक बलात्कार गरेको थियो । घटनाको भोलिपल्टै रिंकुको मृत्यु भएको थियो ।
पीडित परिवारले बलात्कारमा संलग्न गाउँकै तीन युवा र घटनाबारे सहमति गर्न दबाब दिने पञ्चायतका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएको छ । तर, प्रहरीले उनीहरुमध्ये कसैलाई पनि पक्राउ गरेको छैन ।
प्रतिक्रिया