सुर्खेत । नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत गरेका छन् ।
सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा उठेकोले अब त्यसभन्दा तल उठ्ने कुरा नहुने उल्लेख गर्दै सभापति उठ्ने संकेत गरेका हुन् ।
सिंहले भने, ‘म ग्रासरूटबाट आएको हुँ, लिगेसी पनि छ । जिल्लाबाट नेतृत्व सम्हाल्दै महामन्त्री र उपसभापतिसम्म भएँ, संसदीय दलको उपनेता पनि भएँ । अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ ।’
सिंहले १४ औं महाधिवेशनकाे दोस्रो चरणमा सभापति पदमा देउवालाई सहयो गरेको बताए । ‘गएको महाधिवेशनमा सेकेन्ड राउन्डमा शेरबहादुर देउवालाई समर्थन गरेको हुँ,’ सिंहले भने, ‘१४ औंमा सभापति उठेका व्यक्ति त्यसभन्दा तल उठ्छजस्तो त लाग्दैन ।’
उनले पार्टी विधिसम्मत तरिकाबाट सञ्चालन हुनुपर्ने बताए । यही एजेन्डा आफूले पोखरामा भएको १० औं महाधिवेशनदेखि नै उठान गर्दै आएको उनको भनाइ छ ।
उनले कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताएका छन् । महाधिवेशनको इतिहास हेर्दा विधान र संविधानले दिएको प्रावधानअनुसार हुने गरेकोले महाधिवेशन हुने र गरिने पनि उनले बताए ।
१४ औं महाधिवेशनमा सिंहले कांग्रेसमा बेग्लै प्यानल नै बनाएका थिए । उनको प्यानलबाट उपसभापति सुजाता कोइराला उठेकी थिइन् तर पराजित भइन् भने महामन्त्रीमा विश्वप्रकाश शर्मा उठेर जितेका थिए ।
सिंहले १४ औं महाधिवेशनपछि देउवा निकट छन् ।
प्रतिक्रिया