नेपालगन्ज । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबैको सहमतिमा संविधान संशोधन गर्ने तयारी भइरहेको बताएका छन् ।
नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागद्धारा नेपालगन्जमा शनिबार आयोजना गरिएको ‘संविधान संशोधन : आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो बताएका हुन् ।
उनले संविधानसभाबाट निर्मित यो संविधान निर्माण गर्दा धेरै कुरा हतारमा गर्नु परेको र दस वर्षसम्म कार्यान्वयन गर्दा देखिएका केही जटिलतासँगै विभिन्न अन्य विषयमा संशोधन आवश्यक देखिएकोले संशोधनको बहस र छलफल चलाइएको बताए ।
संविधान संशोधनको मुख्य लक्ष्यका साथ काँग्रेस र एमालेको गठबन्धन बनेको भएपनि संशोधन गर्दा सरकार बाहिर रहेको माओवादी केन्द्र र रास्वपालाई पनि सहमतिमा ल्याएर मात्र संशोधन गरिने थापाले प्रष्ट पारे ।
उनले संविधान संशोधन गर्दा अहिले संविधानमा उल्लेख गरिएका कुनै पनि अधिकार कटौती नगरिने जनाउँदै अन्य विभिन्न विषयमा देखिएका जटिलतालाई सच्चाएर राजनीतिक स्थायित्व र देश विकासको ढोका खोल्ने बताए ।
प्रतिक्रिया