रास्वपा केन्द्रीय सदस्य थापा अमेरिकामा पक्राउ

रास्वपा केन्द्रीय सदस्य थापा अमेरिकामा पक्राउ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।

केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन् ।

पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ ।

बाल्टिमोरस्थित नेपालीहरुको छाता संगठन बानाका पूर्व अध्यक्ष समेत रहेका थापाको पक्राउबारे संस्थाका अगुवाहरुलाई एक साताअघि नै जानकारी आए पनि गोप्य राखिएको थियो ।

पछिल्लो समय धेरैजसो नेपालमै बस्दै आएका रास्वपा नेता थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएर ग्रीन कार्डमा थिए ।

थापामाथि नेपालमा सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान थालिएपछि गत साता अमेरिका फर्किएका थिए ।

थापाले राष्ट्रसंघ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट आह्वान समेत गरेका थिए ।

प्रधानमन्त्री सहभागी हुने एक कार्यक्रममा उनको नेतृत्वमा सो घटना हुने हल्लापछि त्यहाँको प्रशासनले सुरक्षा कारण देखाउँदै प्रधानमन्त्रीको कार्यक्र म रद्द गर्न लगाएको थियो ।