युगाण्डामा हुने शृंखलाका लागि नेपालको टोली घोषणा

युगाण्डामा हुने शृंखलाका लागि नेपालको टोली घोषणा



काठमाडौं । आगामी साता युगाण्डामा सुरू हुने महिला टी–२०आई शृंखलाका लागि नेपालको टोली घोषणा भएको छ ।

मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ ।

टोलीमा सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन् । उनीहरूले यू–१९ विश्वकप खेलेका थिए ।

नेपालले गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३-३ खेलको शृंखला खेलेको थियो । एक महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मौका जुरेको छ ।

नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै शृंखला खेलेको थियो भने हङकङसँग पनि खेलिसकेको छ । नामिबियासँग भने महिला क्रिकेटमा नेपालको पहिलो भेट हुनेछ ।

शृंखलामा सबै टोलीले एकअर्कासँग २-२ खेल खेल्ने छन् । चार टिमको लिगमा शीर्ष दुई टोलीबीच फाइनल हुनेछ भने तेस्रो र चौथो स्थानको टोलीका बीचमा तेस्रो स्थानका लागि खेल हुनेछ ।

नेपालले पहिलो खेल मार्च ८ मा नामिबियासँग खेल्ने छ । त्यस्तै दोस्रो खेल ९ मार्चमा युगाण्डासँग, तेस्रो खेल १० मार्चमा हङकङसँग खेल्ने छ ।

चौथो खेलमा १२ मार्चमा नामिबियासँग, पाँचौं खेल १३ मार्चमा युगाण्डासँग र छैटौं खेल १४ मार्चमा हङकङसँग खेल्ने छ ।