कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ: विश्वकर्मा

कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ: विश्वकर्मा



बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बताएका छन् । उनले कांग्रेसको विधान र संविधान अनुसार नै अबको २०-२२ महिनाभित्रमा महाधिवेशन हुने र अहिले पार्टीभित्र रहेका गुट उपगुट सकिने बताए ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी गरे ।

नेता विश्वकर्माले पछिल्लो समय नेपाली कांग्रेस पार्टी चलायमान बन्दै गइरहेको पनि दाबी गरे । उनले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम निरन्तर रूपमा भइरहेको बताए ।

उनले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था भने नरहेको बताएका छन् । अध्यादेश संसदमा लैजाँदा पार्टीहरूबिचमा असन्तुष्टि बढ्ने भएकोले सोचेर मात्रै निर्णय लिनुपर्ने बताए ।

उनले भने, ‘अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो तर अहिले संसदमा लैजाने विषयमा सर्वसम्मत हुने अवस्था देखिएको छैन ।’

उनले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भए पनि आवश्यकता महसुस फरक ढङ्गले भएको बताउँदै हुबहु पारित नभए प्रतिस्थापन विधेयकमार्फत संसदीय प्रक्रियामा जाने र पारित हुने तर्क गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले अहिलेको कांग्रेस एमालेको गठबन्धन बनेको उनको भनाइ छ ।