कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन ओलीलाई भण्डारीको सुझाव

कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन ओलीलाई भण्डारीको सुझाव



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओली कुशल रणनीतिकार रहेको टिप्पणी गरेकी छन् ।

सोमबार ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली अडान र निष्ठाको प्रतिमूर्ति, आवश्यकता अनुसार व्यवहारमा अधिकतम लचकता अपनाउन सक्ने खुबी भएको तथा एउटा कुशल रणनीतिकार समेत रहेको बताइन् ।

उनले भने, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लगि खेल्नुभएको भूमिकालगायतमा देखिएको उहाँको हुटहुटी मैले नजिकबाट नियालेको छु ।’

‘नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन उहाँले निर्वाह गरेको भूमिकाको सराहना गर्दछु’, भण्डारीले भनिन्, ‘साथै भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठुलो योगदान पुग्ने नै छ ।’

अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र शिर्जनशील क्षमताका धनी रहेको भन्दै प्रधानमन्त्री ओली अब्बल राजनेता भएको बताइन् ।

पार्टीका सबै नेता कार्यकर्ताको अपेक्षा पनि सोही रहेको हुनुपर्ने भन्दै भण्डारीले जवजको मार्गदर्शनमा एमालेले आफूलाई निर्णायक शक्तिका रूपमा विकास गरी सामाजिक न्यायको पक्षमा उभिएको आफूले पाएको बताइन् ।