म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ ।
तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत् गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो ।
सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म भौतिक संरचनाको निर्माणतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ ।
रघुगङ्गा–७ चिमखोलामा बाँध र रघुगङ्गा–४ दग्नामको फेदीमा विद्युत् गृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ ।
तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७ दशमलव पाँच मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण शुरू गर्ने तयारी भइरहेको छ ।
मङ्गले राहुघाटको विद्युत् गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ ।
दुई वटै आयोजनाको अनुमानित लागत १३ अर्ब रुपैया रहेको तुँदी पावरका इन्जिनियर घनश्याम भट्टराईले बताए ।
राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।
प्रतिक्रिया