काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे बारम्बार स्पष्टीकरण किन सोधिएको हो भनेर सरकारको जवाफ माग गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङबारे सरकारको कार्यशैली ठिक नभएको भन्दै रुलिङको माग गरे ।
‘कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र कार्यसम्पादनमा शून्य अंक दिने कुरा के हो ?’, पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ । विद्युत् प्राधिकरणलाई नाफामा लगिरहेको छ । यो कुरा के हो ?’ आजको बैठकमा विभिन्न पाँच अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची छ । सरकारले माघ १८ गते पेस गरेको ६ मध्ये पाँच अध्यादेश आज निर्णयार्थ पेस गर्न लागिएको हो । पेस भएकामध्ये भूमि अध्यादेश भने थाती राखेर अन्य अध्यादेश पेस गर्न लागिएको हो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति जनाएको छ ।
रास्वपा कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनिष झाले सरकारप्रति प्रश्न उठाउँदै भने, ‘हामी सार्वजनिक संस्थामा राजनीतिक नियुक्तिको उपज के हुन्छ भन्ने देखिरहेका छौं । कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्याउनेलाई मूल्याकंन जिरोमा गर्छौं । विभिन्न बहानामा कार्यकर्ता भर्ती गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहानाबाजी गरिरहेका छौं ।’
उनले खबरदारी नै जारी गर्दै अघि भनेका छन्, ‘खबरदार भन्न चाहन्छौं, एउटा कुलमानलाई लखेट्यो भने हामी हजारौं कुलमान लिएर आउनेछौं ।’
त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले घिसिङलाई हटाए सदन र सडकबाट विरोध गर्ने चेतावनी दिए । उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र शून्य अङ्क दिएर षड्यन्त्र गरिएको बताए ।
उनले भने, ‘कुलमानलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारमा धकेलेको भनेर सडक र सदन दुवैबाट आवाज उठ्छ ।’
प्रतिक्रिया