माओवादी युद्धका कारण मुलुक २५ वर्ष पछाडि पर्‍यो : मन्त्री गुरुङ

माओवादी युद्धका कारण मुलुक २५ वर्ष पछाडि पर्‍यो : मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी सशस्त्र युद्धका कारण मुलुक २५ वर्ष पछाडि परेको बताउँदै शान्तिको बाटोले मात्र मुलुकको विकास सम्भव भएको बताएका छन् ।

२६ औं यदु स्मृति दिवस तथा २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज सम्बोधन गर्दै उनले सो कुरा बताए । ‘हतियारभन्दा विचार बलियो हो’ भन्ने कुरा माओवादी शान्ति प्रक्रियामा आएपछि पुनः प्रमाणित भएको उनले चर्चा गरे । तत्कालीन माओवादीले सशस्त्र द्वन्द्वको नाममा मुलुकमा हिंसा मच्चाएकाले त्यसको परिणाम अहिले भोगिरहेको उनले टिप्पणी गरे ।

नेकपा (एमाले) को तत्कालीन रुकुमका सचिव यदुप्रसाद गौतम चुनावी अभियानमा भएका बेला माओवादीले खुकुरीले छप्काएर हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री गुरुङले भने, “क्रान्ति अरूको नक्कल गरेर हुने विषय होइन, हिंसाको बाटोबाट सफल नभएपछि माओवादी बाध्य भएर शान्तिको बाटोमा आएको हो । मदन भण्डारीको सिद्धान्त र विचारअनुरूप मुलुकमा परिवर्तन सम्भव भयो ।”

कुनै पनि हिंसा र अराजकता रूपान्तरणको बाटो हुनै नसक्ने भन्दै मन्त्री गुरुङले शान्तिपूर्ण रूपले क्रान्ति सफल भएपछि माओवादीको हिंसा अन्त्य भएको चर्चा गरे । उनले भने, “हिजोसम्म आफ्नो सेना नभएको पार्टी कम्युनिष्ट नै होइन भन्ने माओवादीसँग अहिले सेना कहाँ छ ? के अब ऊ कम्युनिष्ट पार्टी रहेन ?” अहिले माओवादीसँग वैचारिक सिद्धान्त नभएकै कारण अलमलमा रहेको उनले बताए ।

शान्तिको बाटो नै दीर्घकालीन र परिवर्तनको बाटो भएको चर्चा गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले भने, “हिंसाको बाटो नत्यागेको भए अहिलेसम्म माओवादी समाप्त भइसक्थ्यो, अलिकति बुद्धि लगाएर शान्तिप्रक्रियामा आएर राजनीतिक रूपमा केही प्रगति गरेको हो, तर अब निरन्तर ओरालोमा रहन्छ ।”