कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन : मन्त्री खड्का

कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन : मन्त्री खड्का



तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् ।

तनहुँको डुम्रेमा आजदेखि शुरू हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आउनुभएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए ।

उनले भने, ‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकता अनुसार कर्मचारी राख्न पनि सक्छ ।’ मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे ।

नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अंक प्राप्त गर्न नसक्नुभएको हो ।’