जनताले गलहत्याएका सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

जनताले गलहत्याएका सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड



महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै जनताको बलबाट गलहत्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउन खोजेकाे बताएका छन् । उनले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी पनि दिए ।

बिहिबार जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै नेपाली जनताले परास्त गरिसकेका तत्त्वहरूले टाउको उठाउने प्रयास गरिरहेको बताए ।

उनले भने, इतिहास पछाडि फर्किँदैन, अब यस्ता सपना कसैले नदेखे हुन्छ । अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानुपर्छ । पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो हुँदैन ।

उनले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने बताए ।