सरकारका प्रवक्ताको प्रश्न- आफ्नो परिवारको रक्षा गर्न नसक्नेले देश बचाउँछ ?

सरकारका प्रवक्ताको प्रश्न- आफ्नो परिवारको रक्षा गर्न नसक्नेले देश बचाउँछ ?



काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो हैसियत बिर्सिएर अहिलेको व्यवस्थामाथि प्रश्न गरेको टिप्पणी गरेका छन् ।

शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता गुरुङले राजाले देश बचाउन नसक्ने तर्क गरे ।

उनले भने, ‘यो मुलुक उदार लोकतन्त्र भएको हो । तर, त्यसको पनि सीमा हुन्छ । अरू मुलुकमा भएको भए ४०/५० वर्षसम्म मुलुकमा शोषण गर्ने, जनतालाई दुःख दिने राजसंस्था र त्यसको परिवार, व्यक्तिहरूलाई त्यो शासन उल्टिएर नयाँ व्यवस्था आइसकेपछि ती सबै जेलमा बस्नुपर्ने हो । तीनको सम्पति सबै हरण हुनुपर्ने हो । दुनियाँमा त्यही इतिहास छ । तर, हामीले स-सम्मान नागार्जुन दरबारमा राखेका छौँ । आज उनै चाहिँ त्यो व्यवस्था र दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर जुन हर्कत गरिरहेको छ, त्यो उसले आफ्नो हैसियत बिर्सिएको हो ।’

उनले राजावादी दलहरूलाई आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्ने राजतन्त्रले कसरी देशको रक्षा गर्छ ? भन्दै प्रश्न पनि गरेका छन् । एउटा कुलमा जन्मिँदैमा देशको शासन गर्न पाउने व्यवस्था कुनै हालतमा नफर्किने उनले दाबी गरे ।

उनले भने, ‘एउटा कुलमा जन्मिएको कारणले मुलुकको तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिन्छ । जसको शासनमुनि हामी बस्न बाध्य पारिन्छ । त्यस्तो प्रणाली कसरी मान्ने ? राजावादी मच्चिँदै हिँड्दैमा राजा फर्किन्छ जस्तो लाग्दैन ।’