काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं चक्रपथ दोस्रो खण्डअन्तर्गतको काम केही समयमै सुरु हुने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक तथा शून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले चक्रपथको दोस्रो खण्डतर्फ ‘सर्भिस लेन’को निर्माण भइरहेको जानकारी दिए ।
“मुख्य लेनको सम्पूर्ण पूर्वतयारीका कार्य सम्पन्न भइसकेकाले केही समयमै चीन सरकारको सहयोगमा बाँकी निर्माण कार्य सुरु हुनेछ”, मन्त्री दाहालले भने । उनले पुँजीगत खर्च बढाएर लैजान मन्त्रालयले पहलदकमी लिइरहेको उल्लेख गरे । नागढुङ्गा–मुग्लिन, बिपी राजमार्ग, उत्तरदक्षिण करिडोर, पूर्वपश्चिम राजमार्गलगायत राष्ट्रिय राजमार्ग निर्माण तथा स्तरोन्नतिमा अपेक्षित नतिजा हासिल गरिएको दाहालको भनाइ छ ।
उनले भने, “गत पुस मसान्तभित्र सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रू, माघ १७ गतेसम्म ४१ वटा पुल निर्माण सम्पन्न भएको छ । रेलमार्गको तीन किलोमिटर ‘ट्र्याक’ तथा दुई लेनतर्फ २४६ किमी सडक कालोपत्र र छ लेनतर्फ ३० किलोमिटर सम्पन्न भएको छ ।”
सवारी चालक अनुमतिपत्र वितरणमा राखिएको लक्ष्य प्राविधिकरण पूरा हुन नसकेको जानकारी दिँदै मन्त्री दाहालले ‘स्मार्ट कार्ड’ वितरणलाई तीव्र पारिएको बताए । “यसबिचमा नौ लाख ‘स्मार्ट लाइसेन्स’ वितरण गर्ने भनिएको थियो तर एक लाख ६९ हजार ४३९ मात्रै छपाइ भएर वितरण गरिएको छ”, उनले भने, “दुई/तीन महिना कार्ड छपाइ गर्ने मेसिन नै चलेन, त्यहाँ अनेक समस्या रहेछन्, ती समस्या समाधान गर्दै अघि बढिएको छ ।”
मन्त्री दाहालले मन्त्रालयका सम्बन्धमा सांसदले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको जनाउँदै ती विषय समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया