राज्य व्यवस्था समितिद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण

राज्य व्यवस्था समितिद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालको निरीक्षण गरेको छ । समितिका सभापति रामहरि खतिवडा नेतृत्वको टोलीले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेको हो ।

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भइसकेको छ । विधेयकका कतिपय प्रावधानका कारण गृह मन्त्रालय र नेपाल प्रहरी संगठनबीच एक हिसाबले द्वन्द्वको अवस्था सिर्जना भएको बेलामा राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी प्रधान कार्यालयमा पुगेर छलफल चलाएको छ ।

नेपाल प्रहरीकाे वर्तमान अवस्था जान्नका लागि प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेको समितिका सभापति खतिवडाले जानकारी दिए । उनले दक्षिण एसियाकै उत्कृष्ट सुरक्षा निकायलाई समय सापेक्ष, स्वचालित र राजनीतिक हस्तक्षेपमुक्त बनाउने विषयमा प्रहरीका उच्च अधिकृतहरुसँग छलफल भएको जानकारी दिए ।

नेपाल प्रहरीलाई राजनीतिक दलको फुटबल बनाउन नहुने, प्रहरीको मनोबल उच्च राख्ने विषयमा सांसदहरुसहित प्रहरीका उच्च अधिकृतहरुसँग छलफल भएको सभापति खतिवडाले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयको निरीक्षणमा सभापति खतिवडासहित दिलेन्द्र बडु, अशोक राई, चित्रबहादुर केसी, राजेन्द्र पाण्डे, रघुजी पन्त, हितराज पाण्डे, चन्दा कार्की, बुद्धिमान तामाङ, लीलानाथ श्रेष्ठलगायतको निरीक्षणमा सहभागिता थियो ।