मोरङमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर प्यानल नै निर्वाचित

मोरङमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर प्यानल नै निर्वाचित



काठमाडौं । नेकपा एमाले मोरङको राजनीतिमा तरंग आएको छ। एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट समूहले जित हासिल गरेको छ । भर्खरै आएको चुनावी परिणाम अनुसार मोरङमा भण्डारीनिकट अजम्बर राई जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।  राईसहित प्रमुख पदमा भण्डारीनिकटले जित हासिल गरेको छ।

राईले ओलीनिकट राजकुमार ओझालाई ३९ मतले पराजित गरेका छन्। उपाध्यक्षमा भण्डारीनिकट सागर थापा विजयी भएका छन्। सचिवमा भण्डारीनिकट सन्तोष वान्तवा विजयी भएका छन्।

उपसचिव पदमा विराटनगर महानगरपालिकाकी उपमेयरलाई पराजित गर्दै भण्डारीनिकट उषा झा निर्वाचित भएकी छन्। नेकपा एमाले मोरङमा सदियौंदेखि ओलीको बर्चस्व थियो। तर अहिले मोरङको राजनीतिमा ओली समूह पराजित भएको छ।

कुनै बेला ओली समूहमा रहेका मोरङका प्रभावशाली नेता विनोद ढकालले उक्त समूह छोडेसँगै त्यहाँको राजनीतिमा नयाँ परिस्थिति देखिएको छ। पूर्वराष्ट्रपति भण्डारी पुन: राजनीतिमा आएसँगै मोरङमा ओलीको बर्चस्व धानेका नेता ढकालले ओली समूह त्यागेका थिए।

मोरङको एमाले राजनीतिमा ढकाल जुन दिशामा जान्छन्, त्यसैले मोरङको राजनीति सम्हालेको इतिहास छ। एमालेबाट छुट्टिएर समाजवादीमा गएका महेश रेग्मी एक पटक एमालेको मोरङ अध्यक्ष भएका थिए।   

ओलीलाई मोरङ एमालेको अधिवेशनमा प्रमुख अतिथिको रुपमा डाकिएको थियो। तर, आफ्नो टिम पराजित हुने संकेत देखिएपछि उनी अधिवेशनमा गएनन्। उनले उपाध्यक्ष रामबहादुर थापालाई पठाए। 

थापाले अध्यक्ष ओलीको सन्देश सुनाउँदै पार्टीको आन्तरिक निर्वाचनमा चुनाव नगराउने ओलीको सन्देश बाचन गरेका थिए। तर, त्यसविपरीत एमाले मोरङमा दुई समूहले चुनावी प्रतिस्पर्धा गरेका थिए।

ओलीले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा नगराउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा राज्य निकायहरूको भरपुर प्रयोग गरेका थिए। तर, एमालेको आन्तरिक राजनीतिक प्रतिस्पर्धामा प्रधानमन्त्री ओलीको कुनै जोड चलेन।

सार्वजनिक भएको मत परिणाम अनुसार ढकालले अगाडि सारेका अध्यक्षका उम्मेदवार अजम्बर राईले ४४६ मत ल्याउँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत मात्रै ल्याएका छन् । यस्तै उपाध्यक्षमा ढकाल पक्षका सागर थापाले ४२२ मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ३९१, सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन् । यस्तै उपसचिवमा ढकाल पक्षका सन्तोष वान्तवाले ४९० र उषा झाले ४१८ मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ र शिल्पा कार्कीले ४०५ मत ल्याएकी छन् ।