सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराज ज्ञानेन्द्र शाहलाई नहौसिन चेतावनी दिएका छन् । आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका हुन् ।
गृहमन्त्री लेखकले भने, ‘केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन् । त्यो भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन, जनताले आन्दोलन र क्रान्तिबाट फालिसकेको राजालाई पुनः फर्काउँछन् भन्ने भ्रम नपाल्न आग्रह गर्छु ।’
उनले आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै भएको भन्दै नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रहसमेत गरे ।
उनले थपे, ‘लोकतन्त्र भनेको त्यो व्यवस्था हो, सामान्यतया: आन्दोलन, क्रान्तिबाट फालिएको राजसंस्थाका राजा उसै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ । हाम्रो लोकतन्त्र यति उदार छ, कि जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेका छन् ।’
यो नै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन पूर्वराजलाई चेतावनी दिए ।
पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्कन लागेको विषयमा सुरक्षा व्यवस्था कस्तो छ ? भन्ने पत्रकारको प्रश्नमा लेखले सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
प्रतिक्रिया