कालीगण्डकी करिडोरको बादरजुङ र काभ्रेभीरको सडक विस्तार र ढलान सम्पन्न

कालीगण्डकी करिडोरको बादरजुङ र काभ्रेभीरको सडक विस्तार र ढलान सम्पन्न



म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभीर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको छ ।

काभ्रेभीरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

अक्करे भीरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको चालक सुदीप खड्काले बताए ।

सडक खण्डको धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोगबाट पहाड फुटाएर सडक फराकिलो पारिएको योजनाका इन्जिनियर विष्णु चापागाईले जानकारी दिए ।

उनका अनुसार तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएको काभ्रेभीर क्षेत्रमा ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको छ ।

सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । तीन दशमलव पाँच मिटर फराकिलो सडकमा यसअघि एकतर्फी मात्र गाडी चल्ने गरेकामा अहिले आठ मिटर फराकिलो बनाइएको हो ।