बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।
रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रूपन्देहीमा दर्ता भएको मुद्दाको बहसपछि गत माघ १३ गते जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो ।
जिल्ला अदालत रूपन्देहीको सोही आदेश बमोजिम माघ १३ गते साँझ नै लामिछानेले एक करोड रुपैयाँ धरौटी बुझाएका थिए ।
जिल्ला अदालतमा धरौटी बुझाएको डेढ महिनापछि सोमबार बिहान लामिछानेले जिल्ला अदालतको आदेश बदर गरी पाऊँ भन्दै पुनरावेदन निवेदन दिएका हुन् ।
लामिछानेले दिएको निवेदनमाथि अध्ययनको लागि मंगलबार नै अदालतमा पेसी तोकिएको छ ।
जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई धरौटीमा छाड्न गरेको आदेश बदर गरी थुनामै राख्नुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही यसअघि नै उच्च अदालत गइसकेको छ ।
त्यसअघि उनलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख र चितवनको साहारा चितवन सहकारी प्रकरणमा ५४ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
प्रतिक्रिया