कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अन्तर्घात भन्ने राेग रहेको टिप्पणी गरेका छन् ।
सोमबार कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पार्टी भित्रको अन्तर्घात अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘पार्टीभित्र अन्तर्घात भन्ने रोग लागेको छ । त्यसलाई सदाका लागि निर्मूल गर्नुपर्छ । पार्टीभित्र लड्ने हो । भोट हाल्ने बेलामा एक भएर पार्टीलाई जिताउने गरि लाग्ने हो त्यसरी लागे मात्रै पार्टी अगाडी बढ्छ । सुदूरपश्चिमबाट यसको सुरुवात गर्न समेत सबैलाई आग्रह छ ।’
देउवाले एकताबद्ध भए कांग्रेसले बहुमत प्राप्त गर्न सक्ने बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशबाटै पार्टीलाई बहुमत ल्याउन काम सुरू गर्न आग्रह पनि गरे ।
‘कुनै पनि पार्टीको प्रत्यक्ष बहुमत नभएको हुँदा कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी भएपनि बहुमत हामीसँग छैन। भोली पनि हुने सम्भावना कम छ’, उनले भने, ‘एक भएर लागे हाम्रो पार्टीले एक्लै बहुमत प्राप्त गर्न सक्छ ।’
कांग्रेसलाई सबैभन्दा ठुलो पार्टी बनाउन उनले सबै नेता कार्यकर्तालाई मतभेद र असहमति अन्त्य गर्दै अगाडी बढ्न आह्वान गरे ।
सभापति देउवाले एमालेसँग सहकार्य गर्नुपरेको कारणबारे पनि प्रस्ट पारे । अव आफू प्रधानमन्त्री बन्ने पालो आउने भन्दै उनले कांग्रेस एमाले सहकार्य भएपनि दुबै दलले एक अर्कालाई प्रतिस्पर्धी रुपमा हेरिरहेको बताए ।
‘अहिलेको एमाले पार्टी नेता केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पछि छोड्नु हुनेछ । मलाई प्रधानमन्त्री बनाउने उहाँहरूले सहमति गर्नु भएको छ’, उनले भने, ‘मुख्य प्रतिस्पर्धी पार्टी कोही हो भने एमाले हो । एमालेको पनि मुख्य प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेस हो । प्रतिस्पर्धा एक ठाउँमा राखेर हामी मिलेर काम गरिरहेका छौं ।’
प्रतिक्रिया