काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको चहलपहल पछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताए । ‘राजावादीहरूको यो चहलपहलपछाडि संगठित प्रयास छ भन्ने हामीलाई थाहा छ । यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ उनले भने ।
यसो हुनुमा अहिलेकै सरकारकै कमजोरी रहेको पनि प्रचण्डले बताए । यस्ता चलखेलहरू यही ८ महिनामा अचानक वृद्धि किन भयो भन्ने प्रश्न मूल रहेको उनले बताए ।
‘बन्द कोठामा समेत राजतन्त्रका सपना देख्न डराएकाहरू सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन्,’ उनले भने ।
पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै मूल कारण हो भन्ने बुझ्न कठिनाइ नभएको प्रचण्डले बताए ।
‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । उनले गणतन्त्र घोषणा गर्दा शाहलाई निर्वासनसहित नतोकी तत्कालका लागि सुरक्षित ठाउँ दिइएको बताए ।
“उदारतालाई कमजोरी ठाने इतिहास निर्मम हुनेछ,” उनले भने । प्रचण्डले अहिले चाहिँ चलखेल कसरी बढ्यो भन्ने मुख्य प्रश्न रहेको बताए ।
“यस खालका चलखेल आज मात्रै भएका होइनन् । हिजो पनि थिए । अहिलेचाहिँ यो अचनाक किन वृद्धि भयो ?,” उनले सोधे ।
उनले सत्तामा रहेका पार्टीको शासकीय शैली नै यसको मूल कारण भएको दाबी गरे ।
उनले लोकतन्त्र र राजतन्त्रको तुलना नै हुन नसक्ने बताए । “सार्वभौम भइसकेको जनता रैती हुन्छन् भन्ने सोचियो भने त्यो भन्दा ठूलो भ्रम केही होइन,” उनले भने ।


प्रतिक्रिया