सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन् : प्रचण्ड

सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन् : प्रचण्ड



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा विचौलियाको हस्तक्षेप भएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै‌ उनले यो ८ महिनामा विचौलियाबिना भएको एउटै मात्रै उदाहरण दिन पनि आग्रह गरे । उनले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला ८ महिनामा एउटै नीति, निर्णय र नियुक्ति मलाई भनिदिनुस् जसका पछाडि विचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ ।’

साथै, उनले अहिलेको सत्ताको ड्राइभिङ सिटमै विचौलिया रहेको जिकिर गरे ।

‘अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथिहरूले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दैछ, तयो गर्दैछ भनेर । तर, दुई तिहाइको घोडा कसले चलाएको छ ?,’ प्रचण्डले भने, ‘म जोड दिएर भन्छु, सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैले देखेको छैन । तपाईंहरूले गर्ने नियुक्ति, सेटिङ, विचौलियाले गरेको देखेको छु । सत्ताको ड्राइभिङ सिटमै आज विचौलिया छ ।’

प्रचण्डले सरकारलाई आत्मसमीक्षा गर्न आग्रह गरे । उनले सरकारको कुशासन नै लोकतन्त्रमाथि खतरा भएको दाबी गरे । ‘सत्तारूढ साथीहरू कहिले सुध्रनुहुन्छ ? दुईतिहाइको अहंकारमा तपाईंहरूले दौडाएको कुशासनको घोडा नै आज लोकतन्त्रमाथिको सबैभन्दा ठूलो संकट बन्दै छ,’ उनले भने ।

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निक्लिएको जुलुसमा बाहिरी शक्तिको हात भए पनि मुख्यरूपमा नेपालकै जनता आएको बताए । ‘मुख्य कुरा त त्यहाँ उत्रिएको नेपाली जनता नै हो । जसको फोटो टाँसिए पनि नेपाली जनता नै हो,’ उनले भने ।

उनले आत्मसमीक्षा गरेर लोकतन्त्र सुदृढ गर्ने कदममा लागे सरकारलाई साथ दिने पनि बताए ।