काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रश्न र आलोचना गरे पनि घृणा फैलाउने काम नगर्न आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले कुनै पनि व्यक्तिका बारेमा घृणा फैलाउने काम गर्न नहुनेमा जोड दिए ।
‘केही कुरामा हाम्रा बीचमा समझदारी हुनैपर्छ- यो संविधान जोगाउने कुरामा, संवैधानिक संस्था जोगाउने कुरामा, यसलाई ठिक ढंगले लैजाने कुरामा हामी सबैका बीचमा समझदारी हुनैपर्छ,’ प्रतिपक्षी दलहरूप्रति लक्ष्य गर्दै थापाले भने, ‘प्रश्न गरौं, आलोचना गरौं तर घृणा फैलाउने काम नगरौं । कुनै व्यक्तिका बारेमा यसरी पनि घृणा नफैलाऔं कि त्यो घृणाले हामी सबैलाई लिएर जान्छ। त्यसैले संसदभित्र र बाहिर प्रतिस्पर्धा सभ्य र सुसूचित बहस गरौं ।’
सरकारले कुनै पनि अहंकार नराखीकन प्रतिपक्षले उठाएका कुरालाई सम्बोधन गर्दै जाने अभ्यास गर्नुपर्ने थापाले बताए ।
‘यति गर्दै गयो भने परिवर्तनका पक्षमा रहेकाहरू संवाद र सत्कार्यबाट हामीसँगै बाँधिने अवस्था बनाउन सकिन्छ,’ उनले भने, ‘यो संविधान जोगाउने र कुनै पनि षड्यन्त्रका विरूद्धमा एमाले, माओवादी र अरू दलसँग कांग्रेस दृढ भएर उभिने प्रतिबद्धता दोहोर्याउँछु ।’
महामन्त्री थापाले सरकारले नागरिकहरूका असन्तुष्टिहरू सुन्नुपर्ने पनि बताए । जनआन्दोलनका बेला दलहरूलाई साथ दिएका जनता तथा नागरिक समाज असन्तुष्ट रहेको पनि उनको भनाइ छ ।
उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए ।
त्यसका लागि उनले सरकारले कानुन निर्माण गर्दा बृहत्तर सार्वजनिक हितका लागि हुनुपर्ने तर कुनै एउटा व्यक्ति वा समूहले त्यसको लाभ लिनुहुँदैन भन्ने कुरातर्फ सचेत रहनुपर्ने बताए ।
उनले भने, ‘सरकारका निर्णयका सन्दर्भमा प्रश्न उठेको छ । प्रत्येक कुरामा आफ्नो काम, निर्णयबाट संसद्को पनि आम राजनीतिक दल र मानिसको विश्वास जित्ने वातावरण बनाउन सक्नुपर्छ । सरकार, सरकारका माननीय मन्त्रीहरूले नचाहिने ठाउँमा हात हाल्न हुँदैन । नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको कपाल बाँधेर दुखेजस्तो अनावश्यक विषयमा गएर सरकारले अनावश्यक काम नगरोस् ।’
उनले दण्ड जरिवानाको विषयमा न्यायपूर्ण भएन भन्ने प्रश्न उठिरहेको भन्दै कानुन सबैका लागि बराबर छ भन्ने विश्वास बनाउन पर्ने बताए । उनले भने, ‘चाहे सरकारी प्रकरण होस्, जग्गा हिनामिनाको प्रकरण होस्, मानव बेचबिखन, क्याम्पस तोडफोड गर्ने होस् । निर्मम भएर कानुन सबैका लागि बराबर छ भन्ने विश्वास बनाउनैपर्छ । बल्ल विश्वासको वातारण बन्छ ।’

प्रतिक्रिया