काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा मुद्दा चलाउनुपर्ने माग राखी दायर भएको रिटमा आज पुनः सुनुवाइ हुँदै छ ।
यसअघि पटक पटक सुनुवाइ भएर निर्णय सुनाउने दिनसमेत तोकिसकेको अवस्थामा अन्तिम समयमा न्यायाधीश पन्छिँदा यो रिट किनारा लाग्न सकेको थिएन । यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गत वर्षको वैशाख र जेठमा हेर्दा हेर्दैमा राखी लगातार सुनुवाइ अघि बढाएका थिए ।
यसअघि सर्वोच्चबाट जारी आदेश कार्यान्वयन भए–नभएको बुझ्ने भनेर आदेश भएको थियो । त्यस्तै, अग्नि सापकोटा जोडिएको उक्त मुद्दासम्बन्धी फाइलको सक्कल प्रति नै काभ्रे प्रहरीबाट झिकाउने आदेशसमेत भएकोमा थियो ।
काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग पूर्णिमाया लामाले दिएको पछिल्लो रिट निवेदन १४ वर्षभन्दा बढी समयदेखि सर्वोच्चमा विचाराधीन छ । द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर लामालाई बेपत्ता पारेको आरोप छ ।
यस्तै, तत्कालीन सूचना तथा सञ्चार मन्त्री सापकोटाले कनकमणि दीक्षिततविरुद्ध २०६८ असार ६ गते दायर गरेको अदालतको अवहेलना सम्बन्धी मुद्दा र २०७२ चैत २६ गते सुशील प्याकुरेलसमेत ८ जनाले सरकारविरुद्ध दायर गरेको रिट पनि एकसाथ राखेर सुनुवाइ हुँदै आएको छ ।
प्रतिक्रिया