लिभरपुललाई हराउँदै पिएसजी अन्तिम आठमा, बार्सिलोनाको सजिलो जित

लिभरपुललाई हराउँदै पिएसजी अन्तिम आठमा, बार्सिलोनाको सजिलो जित



काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत फ्रेञ्च क्लब पिएसजी अन्तिम आठमा पुगेको छ । पिएसजीले इंग्लिस क्लब लिभरपुललाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

मंगलबार भएको अन्तिम १६ को दोस्रो लेगमा पिएसजीले १-० ले विजयी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

लिभरपुलको मैदानमा भएको खेलमा पिएसजीका लागि डेम्बेलेले १२औं मिनेटमा गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको खेलमा कुनै गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुग्यो। किनभने पहिलो लेगमा लिभरपुल १-० गोलले विजयी भएको थियो ।

पेनाल्टी सुटआउटमा पिएसजीका गोलकिपर डोन्नारुम्बा नायक सावित भए। उनले लिभरपुलका दुई पेनाल्टी विफल पारिदिए ।

यता स्पेनिस क्लब बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकामाथि समग्रमा ४-१ को जितसहित अन्तिम आठमा पुग्यो । मंगलबार भएको दोस्रो लेगमा बार्सिलोना ३-१ गोलले विजयी भयो भने पहिलो लेगमा बार्सिलोनाले १-० गोलको जित निकालेको थियो ।

मंगलबार बार्सिलोनाका लागि राफिन्हाले ११ र ४२ तथा लमिन यमलले २७ मिनेटमा गोल गरे ।

अन्य खेलमा बायर्न म्युनिखले आफ्नै देशको बायरलिभरकुजेनलाई समग्रमा ५-०, इन्टर मिलानले फेयेनूर्डलाई ४-१ ले पछि पारेर अन्तिम आठमा स्थान पक्का गरेका छन् ।