काठमाडौं । बुधबारकाे प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले सरकारको नाममा रहेको जग्गा नेपाली कांग्रेसको नेताले भोगचलन गरेको भनेपछि संसद्मा कांग्रेसका नेताहरूले विरोध गरेका छन् ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर-९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको बताएका थिए ।
सांसद खनालले नेवारी समुदायको चिहानको जग्गा कांग्रेसका नेताले भोगचन गरेको स्थानीयको गुनासो रहेको बताएका थिए ।
“काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा नेपाल सरकारको नाममा रहेको नेवार समुदायको चिहान रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेस नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले कुनै पहल नगरेको आमगुनासो छ,” उनले भने ।
त्यस्तै, तारकेश्वर–१० मा सरकारी जग्गाबाट प्लटिङ गरेको जग्गामा बाटो लगेको भन्दै स्थानीय जनताले विरोध गरेको उनले बताए । तर, नजिकै रहेको वडाले कुनै तदारुकता नदेखाएको उनको भनाइ छ ।
खनालले आफ्नो धारणा राखिसकेपछि सभामुखले नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरलाई बोल्न समय दिएका थिए । तर, कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाउँदै समय मागे । तर, सभामुखले कुनै नेतालाई नतोकेको भन्दै सोझै प्रतिवाद नगर्न आग्रह गरे र बैठक अघि बढाए ।
त्यसपछि आजकै बैठकमा सांसद सुमना श्रेष्ठले पनि कांग्रेसका नेताले सरकारको नाममा रहेको जग्गाको भोगचलन गरेको गुनासो स्थानीयको रहेको सुनाइन् ।
श्रेष्ठले धारणा राखिसकेपछि कांग्रेसका सांसदहरूले उठेर समय माग गरे । सचेतक सुशिला थिङ, सांसदहरू राजेन्द्र कुमार केसी, राजेन्द्र बजगाईंलगायतले उठेर विरोध गरे । उनीहरूले पार्टीलाई लाञ्छना नलगाउन भन्दै आपत्ति जनाए । उनीहरू उठेपछि सदनको कारबाही अवरुद्ध भएको थियो ।
तथ्यहीन आरोप लगाएको भन्दै उनीहरूले रास्वपाका सांसदद्वय खनाल र श्रेष्ठको आभिव्यक्ति हटाउन माग गरे ।
त्यसपछि सभामुखले आसनग्रहण गर्न आग्रह गरे । उनले सार्वजनिक ढंगबाट विचार राख्दा सांसद स्वयं जिम्मेवार हुनुपर्ने बताए ।
“यहाँ वादविवाद गरेर यो विषयमा जाने होइन । प्रक्रियासंगत ढंगबाट कसरी लानुपर्छ भन्नेमा जानुपर्छ । बोल्ने मान्यहरूले आफू उत्तरदायी र प्रमाणित हुने गरी बोल्नुपर्छ,” उनले भने ।
उनले आफूले समय पाउँदामात्रै बोल्न पनि सांसदलाई आग्रह गरे । कांग्रेस सांसदहरूले ‘कुन नेताले गरे’ भन्दै नाम तोक्न माग गरे । सभामुखले कुनै नेताको नाम नलिएको भन्दै सदनमा लाञ्छना लगाए बहस नटुंगिने बताए ।
“लाञ्छना हो कि होइन भन्ने पक्ष विपक्ष भएर बोलेर टुंगिँदैन,” उनले भने ।
सभामुखले आसनग्रहण गर्न आग्रह गरेपछि कांग्रेस सांसदहरू बसेका थिए । त्यसपछि बैठकको कारबाही अघि बढ्यो ।
प्रतिक्रिया