रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा नागरिकमा असन्तुष्टि बढेकाले यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।
कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर २ ‘क’ को बुधबार भएको क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले अहिलेसम्म चर्चामा रहेका काण्डहरुको र नेताका सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाएर अघि बढ्न तयार हुनुपर्ने बताए ।
निराशाप्रतिको जनताको आक्रोशलाई राजावादीले घ्यू थप्ने प्रयास गरेको भन्दै उनले त्यसलाई समयमै सम्बोधन गरेर जानुपर्ने बताए ।
महामन्त्री थापाले भने, ‘नागरिकहरूलाई के लाग्न थालेको छ भने यो देशमा यति धेरै राजनीतिक दलहरू भ्रष्टाचारमा डुबेका छन्, नेताहरू भ्रष्ट भएका छन्, भ्रष्टाचारको आहालमा डुबेका अनैतिकहरूको झुण्डले हामीलाई कुनै पनि समाधान दिन सक्दैन भन्ने लागेको छ । अख्तियार र सरकारले गरेका अनुसन्धानमा चित्त नबुझाउने भए संसदबाट उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सकिन्छ, एकले अर्कालाई आरोपप्रत्यारोप गर्नुभन्दा अवकाश प्राप्त कुनै प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरौँ । समितिले दोषी देखाएका सबैलाई मामा, काका, दाइ नभनी कारबाही गर्न तयार बनौं ।’
उनले गलत र भ्रष्टाचार गर्नेलाई नजोगाउने गरी समितिलाई जिम्मेवारी दिएर अहिलेको निराशा चिर्नुपर्ने बताए ।
थापाले भने, ‘सबै नेताको सम्पत्ति पनि छानबिन गरौं र सबै काण्डको छानबिन गरौं, गल्ती गरेको रहेछ भने आमा परे पनि मामा परे पनि पाता कसेर लैजाऔैं, ठूला काण्डको छानबिन गरेपछि अहिलेको निराशा त्यसै कम हुन्छ ।’
प्रतिक्रिया