काठमाडौ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने गरी बनाउन लागेको कानून प्रति आक्रोस व्यक्त गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत् आफ्नो भनाई राख्दै नेता कोइरालाले यस्ता कामले व्यवस्था र दलहरूको हित नगर्ने बताए। उनले पूर्वविशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक रहेको बताए । उनले सरकारको यस्तो कदमलाई ‘विनास काले विपरित बुद्धि’ को संज्ञा दिएका छन्।
‘सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा, यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाऊ, बरु अहिले दिइएको सुविधा पनि घटाऊ’कोइरालाले भनेका छन्।
पछिल्लो समय सरकार पूर्वविशिष्ट पदाधिकारीलाई राज्य ढुकुटीबाट ‘कुस्त सुविधा’ दिने कानुन बनाउन अग्रसर भएको छ। पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक तर्जुमाका लागि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए। मन्त्रिपरिषद्ले सहमति दिएपछि पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्याधीश, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने गरी विधेयकको मस्यौदा बनाउन गृह मन्त्रालय जुटेको छ।
प्रतिक्रिया