राजावादीलाई प्रचण्डकाे चेतावनी- इँटको जवाफ पत्थरले दिन्छौं

राजावादीलाई प्रचण्डकाे चेतावनी- इँटको जवाफ पत्थरले दिन्छौं



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने राजावादीलाई चेतावनी दिएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै हजारौं जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्र १० हजार मान्छे उफार्दैमा उल्टाउन सम्भव नभएकाे बताए ।

उनले भने, ‘इतिहासमा हजारौं जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्र १०, १५ हजार मान्छे उफार्दैमा उल्टाउन सम्भव छैन । तर, दुस्साहस चैं भएको छ । इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ । समाजवादीहरू तयार छन् । सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ उपस्थित हुन सबैलाई आह्वान गर्दछु ।’

पूर्वराजाको नाममा अहिले नौटंकी देखाइएको भन्दै उनले अरुको भरमा नउचालिन उनले पूर्वराजालाई समेत चेतावनी दिए । ‘जुन नौटंकी देखाइँदैछ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पुर्‍याए ?’ उनले भने, ‘तिम्रा आसेपासेले तिमीलाई उचालेका छन् । विदेशीको एक दुई फोटो टाँस्दैमा फर्कन सक्छु भन्ने लागेको होे भने होसियार, तिम्रो दिवास्वप्न पूरा हुँदैन । किनभने मूर्ति चोर को हुन् ? नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ने ठानेको ?’

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको स्मरण गर्दै भने, ‘पाँच वर्ष शासन गर्न पाएको भए भाइमाराहरूलाई कारागारमा कोच्ने थिएँ । आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?’