रघुजी बोल्दा ज्ञानेन्द्रले विरोध गरेपछि संसदमा वादविवाद

रघुजी बोल्दा ज्ञानेन्द्रले विरोध गरेपछि संसदमा वादविवाद



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच वादविवाद भएको छ ।

पन्तले विशेष समय लिएर बोल्दै गर्दा शाहीले उठेर विरोध जनाएपछि सभामुखले हस्तक्षेप गर्नुपरेकाे थियाे ।

सांसद पन्तले राजसंस्थाको बारेमा बोलिरहेका थिए । उनले राजाहरूले गरेका गल्तीहरूका बारेमा बोल्दा राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि भनाभन भएको हाे ।

राजा त्रिभुवन दिल्ली जाँदा विभिन्न ठाउँमा ‘रसरंग मच्चाउन थालेपछि भारतीय प्रधानमन्त्री नेहरुले नै आलोचना गरेको दाबी पन्तले गरेका थिए । उनले यस्तो बोलिरहँदा शाहीले उठेर बिना प्रमाण आधारहिन कुराहरू संसदमा नबोल्न चेतावनी दिए ।

शाहीले भने, ‘बिना आधार राजाहरूको विषयमा जथाभाबी बोल्न पाइन्छ ?’ पन्तले भने इतिहास पढेर आउन शाहीलाई सुझाव दिए । जवाफमा पन्तले भने, ‘के बोल्न पाइन्छ मलाई थाहा छ । ‘इतिहास पढेर आउनुस् महोदय । जुम्लामा हाहु गरेर आएको जस्तो होइन । मसित बहस गर्ने भए पढेर आउनुस् ।’

शाहीले नभएका कुरा बोल्न नपाइने भन्दै आपत्ति जनाउन खोजे पनि सभामुख देवराज घिमिरेले बोल्न दिएनन् । सांसद शाहीले बोल्न समय मागिरहे । त्यसपछि सभामुख घिमिरेले भने, ‘मैले तपाइलाई बोल्न दिएको छैन, बोल्न दिएका माननीयज्यूलाई बोल्न दिनुहोस् ।’

त्यसपछि केहीबेर लफडा भएपछि सभामुख घिमिरेले केही व्याख्या गरे । घिमिरेले भने, ‘नियमावलीको आधारबाट अभिव्यक्ति दिन्छौँ । त्यसैका आधारमा सत्य तथ्यमा आधारित भएर बोल्नु भएको छ । कैयौँ मानिसलाई झुटो र बेठिक लाग्न सक्छ । विधिवत ढंगबाट प्रमाणित र खण्डन गर्नुपर्छ । अनुमति दिने नदिने काम गरिएको छ ।’

पन्तले आफूलाई बोल्न डिस्टर्व गरिएको भन्दै यो समयको हिसाब गर्न सभामुख समक्ष माग गरे । अन्तिममा पन्तको काटिएको समय सभामुख घिमिरेले थपिदिएका थिए ।