पूर्वराजाले गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन : सिटौला

पूर्वराजाले गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन : सिटौला



काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाह गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय विषय नभएको बताएका छन् ।

फागुन २५ गते पोखराबाट काठमाडौं फर्केका पूर्वराजा शाहलाई त्रिभुवन विमानस्थल गेटदेखि राप्रपालगायतको आह्वानमा भेला भएकाहरूले स्वागत गरेका थिए । त्यसबेला पूर्वराजा शाहले आफू चढेको गाडीमा उभिएर स्वागतमा आएकाहरूप्रति कृतज्ञता जनाएका थिए ।

सोही दृश्यलाई संकेत गर्दै राष्ट्रिय सभाको सोमबारको बैठकमा नेता सिटौलाले उक्त विषय सुहाउँदो नभएको टिप्पणी गरेका हुन् ।

‘प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा म आफै गएर तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग करिब एक घन्टा संवाद गरेको थिएँ,’ पूर्वराजा शाहले नारायणहिटी छाड्नुअघिका कुरा स्मरण गर्दै सिटौलाले भने, ‘मन्त्रीपरिषदको निर्णयका आधारमा उहाँलाई सम्मानका साथ निवासको प्रबन्ध गरेर पठायौं र सुरक्षाको प्रबन्ध हुन्छ भन्ने ग्यारेन्टी गरिएको थियो ।’

तर अहिले आएर पूर्वराजाले म नै केही गर्छु भनेको सिटौलाको भनाइ छ । ‘अहिले आएर म नै केही गर्छु भनेर, गाडीमा उभिएर, ताली खाँदै र ताली दिँदै हिँड्नु शोभनीय विषय भएन,’ उनले भने, ‘हामीले बाहिर पठाएका राजालाई पनि सम्मान दिएका छौं उहाँले ग्रहण गरिराख्नु उचित हुन्छ। नभए उहाँले जनतासामु अब म राजनीतिक खेलाडीका रूपमा आएँ भनेर भन्न सक्नुपर्छ । तर राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारणलाई भड्काउने काम भएको छ, त्यसमा हामी परिवर्तनकारी दलहरूको दृढता हुनुपर्ने त्यो देखिराखेको छैन ।’

उनले तत्कालीन राजा वीरेन्द्रको वंशनासको घटनाबारे भने त्यति बेलाको प्रशासन नै जानकार रहने बताए । “राजाको परिवारको वंशनासको घटना त्यस बेलाको दरबार प्रशासनले जान्ने कुरा भयो । त्यस बेलाको दरबारका सदस्यले जान्ने कुुरा भयो,” उनले भने, “त्यस बेलाको सरकार उत्तरदायी हुन सकेन, कानुनी जिम्मेवार थिएन ।”

सिटौलाले संविधानको मौलिक पक्षको वास्तविक कार्यान्वयन भयो कि भएन भनेर समीक्षा गर्ने बेला भएको बताए । उनले संघीयता, समावेशी लोकतन्त्रको पनि समीक्षा गर्नुपर्ने धारणा राखे ।

उनले संविधानका पक्षमा भएका सबै दल एकताबद्ध हुनुपर्ने बताए । उनले राज्य सञ्चालन तथा संविधानका त्रुटि पहिचान गरी सुधार गर्न सक्नुपर्नेमा पनि जोड दिए ।